डब्लूएचओबाट बाहिरिन औपचारिक कदम चाल्दै अमेरिका
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) बाट बाहिरिन औपचारिक कदम चालेका छन् ।
कोरोना भाइरसको महामारी नियन्त्रणमा चीनको पक्ष लिएको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले गत मार्चमा नै डब्लूएचओबाट बाहिरिने घोषणा गरेका थिए ।
युरोपेली संघ (ईयू) सहित विभिन्न पक्षले डब्लूएचओबाट बाहिरिन गरेको आग्रहलाई बेवास्ता गर्दै ट्रम्पले डब्लूएचओ परित्याग गर्ने र त्यसलाई उपलब्ध गराइने रकम अन्य परोपकारी संस्थालाई दिने बताउँदै आएका छन् ।
अहिले ट्रम्पले संयुक्त राष्ट्रसंघ र कङ्ग्रेसलाई आफ्नो उद्देश्यबारे सूचित गरेका छन्। तर, यो प्रक्रिया पूरा गर्न करिब एक वर्ष लाग्नेछ । राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान डुजारिकले अमेरिकाले ६ जुलाई, सन् २०२१ देखि डब्लूएचओ परित्याग गर्न सूचना दिएको पुष्टि गरेका छन् ।
डेमोक्रेटिक पार्टीबाट परराष्ट्र सम्बन्ध समितिमा भएका सांसद रोबर्ट मेनन्डेजले ट्विटरमा लेख्दै राष्ट्रपतिले अमेरिकालाई डब्लूएचओबाट औपचारिक रूपमा बाहिर निकालेकोबारे कङ्ग्रेसले सूचना पाएको जनाएका छन् ।चीनले कोरोना भाइरस महामारी फैलाएको दाबी गर्दै ट्रम्पले डब्लूएचओ चीनको इशारामा चलेको आरोप लगाएका थिए ।
ट्रम्पको निर्णयप्रति डेमोक्रेटिक पार्टी भने सहमत छैन । आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले ट्वीट गर्दै आफू राष्ट्रपति बनेको पहिलो दिन अमेरिकाले डब्लूएचओको सदस्यता लिने घोषणा गरेका छन् ।
सभामुख न्यान्सी पेलोसीले पनि ट्रम्पको घोषणाप्रति आपत्ति जनाएकी छन् । अमेरिका डब्ल्यूएचओको प्रमुख दाता हो । उसले गत वर्ष ४० करोड डलरभन्दा बढी रकम अर्थात् डब्लूएचओको कुल बजेटको झन्डै १५ प्रतिशत डलर उपलब्ध गराएको थियो ।
अमेरिका बाहिरिएपछि डब्ल्यूएचओको आर्थिक स्थिरता तथा स्वास्थ्य सेवा र विविध रोगसँग संघर्ष गर्न सञ्चालित कार्यक्रमहरूको भविष्यमाथि प्रश्न उठेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस