कैलालीको सालघारी सामुदायिक जंगलमा २ जना पुरुषको शव भेटियो
काठमाडौं - कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित सालघारी सामुदायिक जंगलमा दुई युवाको शव भेटिएको छ ।
मृत भेटिनेहरुमा धनगढी उपमहानरपालिका–१० का अन्दाजी ३० वर्षका देवल चौधरी र सोही ठाउँका अन्दाजी ३२ वर्षका कैदा राना छन् । चौधरीको शव झुडिएको अवस्थामा र रानाको शव भुईँमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र सिंह बोहोराले बताए ।
उनका अनुसार चौधरीको शव साइकलमा सामान बाँध्ने ट्युबको डोरीले घाँटीमा पासो लगाएर जमानुको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । उक्त शवको करिब १५ मिटर पर रानाको शव भुईँमा फेला परेको छ ।
मृतक कैदा रानाका छोरा कैलास रानाको मोहना नदीमा गत भाद्र महिनामा डुबेर मृत्यु भएको भएको थियो । छोरा गुमाएको ६ महिनापछि उनको पनि रहस्यमय मृत्यु भएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक देवल चौधरीका छोरा प्रकाश चौधरीले बुवा राति गाउँको बिहेमा जान्छु भनेर घरबाट निस्किएका थिए ।
फेसबुक पेज Like गर्नुहोस