काठमाडौं,एजेन्सी - उपाधि दावेदार बेल्जियमले १६औं संस्करणको युरोकपमा विजयी सुरुवात गरेको छ । गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियमले रुसलाई ३-०ले पराजित गरेको हो । 

खेलको दशौँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा थोमस मुनिएरले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३-० को सहज जित दिलाए । लुकाकुले आफ्नो गोल खेल दौरान अचेत भएर ढलेका फिनल्याण्डका मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई समर्पित गरेका थिए । 

जितसँगै समूह बी मा रहेको बेल्जियमले अंक तालिकामा ३ अंक जोडेको छ । बेल्जियम शीर्ष स्थानमा रहेको छ । अंक विहीन रुस भने तालिकाको पुछारमा रहेको छ ।