इटाली क्वाटरफाइनलमा, बनायाे कीर्तिमान
काठमाडौं,एजेन्सी - इटाली युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ले पराजित गर्दै इटालीले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ९५औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेडेरिको किएजाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । खेलको १ सय ५ औं मिनेटमा म्याटियो पेस्सिनाले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ११४ औं मिनेटमा अष्ट्रियाका सासाले एक गोल फर्काएपनि इटाली २-१ ले विजयी भयो ।
यससँगै लगातार ३१ खेल अपराजित रहँदै इटालीले ८२ वर्ष पुरानो आफ्नै कीर्तिमान तोडेको छ । यसअघि इटालीले सन् १९३५ अक्टोबर देखि सन् १९३९ जुलाईसम्म ३० खेल अपराजित रहने कीर्तिमान राखेको थियो ।
इटालीले अब क्वाटरफाइनलमा आज हुने बेल्जियम र पोर्चुगलबीच खेलको विजेतासँग खेल्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस