बिहीबारका लागि पुनः सर्यो नेकपाको सचिवालय बैठक
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बस्ने भनिएको बैठक पुनः स्थगित भएको छ । थप आन्तरिक छलफल गर्नुपर्ने देखिएको भन्दै बैठक बिहीबारका लागि सारिएको हो ।
पार्टीको स्कुल विभागसहित जनवर्गिय संगठनको नेतृत्व लगायत विषयमा विवाद कायमै रहेपछि बैठक बस्दै नबसी स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट फर्केलगतै मंगलबार बस्ने भनिएको बैठक तयारी नपुगेकाले भन्दै बुधबारका लागि सारिएको थियो ।
अन्य विभागको टुङ्गो लागेपनि स्कूल विभागको विषयमा कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक पटक सर्दै आएको छ । पार्टी एकता भएको एक वर्ष पूरा भए पनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन ।
अहिलेसम्म प्रदेश कमिटी, र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता दिन बाँकी छ ।
मंगलबार पनि प्रधानमन्त्री ओलीले पूर्व एमालेका नेताहरुबीच गरेको छलफलमा जनवर्गीय संगठनको नेतृत्वलाई लिएर व्यापक विवाद भएको र त्यो टुगिंन नसकेपछि बैठक स्थगित गर्नु परेको नेकपाका एक नेताले बताए ।
यसै विषयमा प्रधानमन्त्री ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । सो छलफल पनि विना निष्कर्ष सकिएपछि थप गृहकार्य गर्ने भन्दै सचिवालय बैठक भोलिसम्म लागि स्थगित भएको सूचना जारी गरिएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस