काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमित हुने १० वर्ष मुनीका बालवालिकाको संख्या ५सय नाघेको छ । त्यसमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा १७५ जना बालबालिका रहेका छन् । उनीहरु सबैजना आमाबाबुसँगै भारतबाट फर्किएकाहरु रहेको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कूल संक्रमितको संख्या १४,५०० नाघ्दा १८ वर्षमुनिका करिब २,१०० जना र दश वर्षमुनिका संक्रमित बालबालिकाको संख्या ५०० पुगेको छ । केही दिन अघि कोरोनाका कारण काठमाण्डौ शिक्षण अस्पतालमा उपचार गराइरहेका एकजना ४९ दिनका शिशुको मृत्यु भएको थियो । अहिलेसम्म कोरोनाबाट मुत्यु भएका बालबालिकाहरुमा उनी एकजना मात्रै हुन् । बालबालिकामा सङ्क्रमण बढ्दै गएपछि स्थिति अरु डरलाग्दो हुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले आमाबाबुले आफ्नो जुठो खानेकुरा बच्चालाई खान दिने लगायतका हाम्रा पुराना बानी व्यवहारका कारणले पनि बालबालिकामा सरेको हुन सक्ने भन्दै अहिलेसम्मको सङ्क्रमित बालबालिकाको संख्या हेर्दा आत्तिनुपर्ने खालको नभए पनि अभिभावकहरू सचेत हुनुपर्ने उनी अवस्था आएको बताउँछन् ।

‘बालबालिकालाई खाना खुवाउँदा छुट्टै भाँडामा खुवाउनुपर्छ, जुठो खुवाउनु हुँदैन । संक्रमणका लक्षण देखिएका छन् भने बालबालिकाबाट आमाबाबु वा नजिकका आफन्त टाढा बसिदिनुपर्छ ।’ उनी भन्छन् । ‘कोरोनाभाइरसको सङ्क्रमण हुनसक्ने सबै क्रियाकलापमा बालबालिकाबारे सोचेर सचेत हुनुपर्छ’ डा. पुनले विविसीसंग भनेका छन् । साथै उनले बालबालिका जहाँतहीँ गएर खेल्ने भएकोले जथाभावी थुक्न नहुने, उनीहरूको अगाडि खोक्दा वा हाच्छिउँ गर्दा सचेत हुनुपर्ने बताएका छन् । ‘कोरोनाभाइरसको सङ्क्रमण हुन नदिन सकेसम्म बालबालिकालाई घरमै राख्ने र भिडभाडमा लैजानु हुंदैन । बाहिर जानु परेमा अनिवार्य आफू र बालबालिका दुवैले मास्क लगाउने र अरूसँग दूरी राख्ने नियम पालना गर्नुपर्छ ।’ डा. पुनको भनाइ छ ।