विश्वकप छनोट: चाइनिज ताइपेईविरुद्ध दोस्रो जितको खोजीमा नेपाल
काठमाडौं - सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपका लागि जारी एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरणमा आज नेपालले चाईनिज ताईपेसँग भिड्दैछ ।
कुवेतको राजधानी कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
ताईपेविरुद्ध नेपाल सहज जितको खोजीमा छ । नेपाल र ताइपेबीच अहिलेसम्म दुई खेल भएका छन् । हेड टु हेडमा नेपाल बलियो देखिएको छ । पहिलो भेट बराबरमा सकिएको थियो भने २१ महिना अघि भएको दोस्रो खेलमा ताइपेइलाई उसकै मैदानमा गएर नेपालले २–० ले हराएको थियो ।
समूह बीको छनोट खेलमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन् । छनोट चरणमा पाँच खेल खेल्दा नेपालले जितेको एक मात्र खेल चाइनिज ताइपेइविरुद्ध नै हो । त्यसबाहेकका सबै ४ खेलमा पराजय भोगेको थियो । पहिलो खेल भन्दा हाल टोलीमा प्रशिक्षकसहित व्यापक परिवर्तन भइसकेको छ । त्यति बेला योहान कालिनको प्रशिक्षणमा रहेको नेपाली टोलीको नेतृत्व यसपटक प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सम्हालेका छन् ।
अहिलेसम्मको चार खेलमा शतप्रतिशत जितको नतिजासहित अष्ट्रेलिया १२ अंक जोडेर शीर्ष स्थानमा छ । ५ खेलबाट कुवेत र जोर्डनको समान १० अंक छ । नेपालले एक जितबाट ३ अंक जोडेर चौथो स्थानमा रहँदा ताइपेई पाँचै खेलमा पराजित भएर अंकविहीन छ । समूहका शीर्ष ३ टिम समूह विजेता बन्दै विश्वकपको तेस्रो चरणमा पुगेर एसिया कपमा सिधै छनोट हुन चाहन्छन् । जसमा नेपाल अंकगणितीय रुपमा त्यो होडमा कायम छ तर त्यहाँ पुग्न असम्भवजस्तै छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस