धादिङवेशी - पहिरोको कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङ जिल्लाको विभिन्न स्थानमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएको हो । 

अविरल वर्षापछि गजुरी गाउँपालिकाको फुर्केखोलामा लेदोको चाङ जम्मा भएको छ । सदरमुकाम प्रवेश गर्ने फुर्के खोला नजिकै खनिएको सडकबाट राजमार्गमा साना पहिरो र लेदो जम्मा भएको हो । तल रहेको त्रिशुली नदीको वहाब पनि बढ्दै गएको कारणले गर्दा त्यस आसपासमा बस्ने स्थानीयहरु त्रसित भएका छन् ।

यस्तै, गजुरी गाउँपालिका परिसरमा पनि पहिरो गएको छ । गाउँपालिका परिसर हुँदै आएको पहिरोले पृथ्वी राजमार्ग समेत अवरुद्ध बन्नपुगेको छ ।

उता बेनीघाट रोराङ गाउँपालिकामा पहिरो जाँदा ४ वटा गाडी पुरिएको छ भने ३ वटा गाडीलाई त्रिशूली नदीले बगाएको छ । बेनीघाट रोराङ १० स्थित हुग्दी खोला र बाँदरेभिरको बीचको क्षेत्रमा आएको पहिरोले ४ वटा गाडी पुरेको हो भने पहिरोमा परेका ३ वटा गाडी त्रिशूली बगाएको प्रहरीले जनाएको हो ।मलेखुमा भने पहिरोमा परेर एक जना वेपत्ता भएको छ । वेपत्ताको खोजी कार्य चलिरहेको छ ।

बाढीकै कारण धादिङ र चितवन जोड्ने मोवाखोलामाथिको पुलमा क्षति पुगेको छ । पुलको धादिङतर्फको भागमा बाढीले कटान गरेर क्षति पुगेको हो। पुलमा क्षति पुगेपछि अहिले पृथ्वीराजमार्गको उक्त सडकखण्ड पनि अवरूद्ध छ ।