काठमाडौं - नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् । सोबारे जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइएको देउवाको सचिवालयले जनाएको छ ।

दिउँसो १ बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथ गराउने गरी तयारी गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

खड्काले आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्नेछन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खड्का आज बेलुकी साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यूयोर्क प्रस्थान गर्नेछन् ।

उदयपूर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य खड्का यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सहरी विकास मन्त्री थिए । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका खड्का योजना आयोगको पूर्व उपाध्यक्षसमेत हुन् ।

हाल उनी कांग्रेसको विदेश विभाग प्रमुखसमेत रहेका छन् ।