काठमाडौं - लामो समयदेखि रोकिएको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारीस्वरूप आज संवैधानिक परिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक आह्वान गरेका हुन् ।

हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त रहेकाले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले जिम्मेवारी सम्हाल्दै आएकी छन् । परिषद् बैठकको मुख्य एजेन्डा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने रहेको जनाइएको छ ।

संवैधानिक परिषद् सचिवालयले बुधबार जारी गरेको सूचनाअनुसार बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, कानुनमन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारीलाई सहभागी हुन आमन्त्रण गरिएको छ ।