काठमाडौं - नेपालमा भेटिएका कोरोना भाइरस (कोभिढ-१९) संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमणबाट उपचाररत आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका हुन् । यस्तै, डा. देवकोटाले मंगलबार थप नयाँ कोरोना संक्रमित फेला नपरेको पनि स्पष्ट पारेका छन् ।
नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमण फेला परेका छन् । जसमध्ये आठ जना उपचाररत छन् भने एक जना उपचार पछि घर फर्किसकेका छन् ।
यस्तै, संक्रमित व्यक्तिका परिवारका सदस्य र सम्पर्कमा रहेका अन्य मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम ९० प्रतिशत पुरा भएको डा. देवकोटाले बताए । यो काम विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डबमोजिम भइरहेको उनले बताए ।
हाल देशभर कुल १०० जना आइसोलेसनमा रहेका छन् तीमध्ये काठमाडौं उपत्यकामा १६ जना र राजधानीबाहिर ८४ जना छन् ।

.gif)


