काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता, लोकतन्त्रको रक्षा लगायतको कुरामा एमाले नेपाली कांग्रेससँग सँगसँगै अघि बढ्न तयार रहेको बताएका छन्। कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ओलीले राष्ट्रियता, लोकतन्त्रको रक्षा, विकास, सुशासन, स्थिरता र समाजिक न्याय र समानताको प्रश्नमा एमाले कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताएका हुन्।

देशमा भएमा मुख्य राजनीतिक परिवर्तनमा एमाले र कांग्रेसबीच सहकार्य भएको भएको भन्दै अगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताएका हुन्। 

‘भर्खरभर्खरको बाच्चो हिड्न जाँदै दगुर्न खोज्छ’ भन्दै उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई ब्याङ्य गर्न भ्याएका थिए। सोही मञ्चमा लिङ्देनले राजतन्त्र फर्काउनुपर्ने बताएका थिए। त्यसको जवाफमा ओलीले लिङ्देन भर्खरै अध्यक्षमा निर्वाचित भएकोले यस्तो कुरा बोलेको होला भनेका थिए। 

एमाले एक्लै हिँड्ने पार्टी नभएको भन्दै सबै पार्टीसँगै अघि बढ्न तयार रहेको बताए। कांग्रेस अरुको नीति भन्दा पनि आफ्नो नीतिको पछाडि अरुलाई हिँडाउने पार्टी हुनुपर्ने भन्दै ओलीले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिए। 

ओलीले नेपालको महत्वपुर्ण विकास गर्ने अभिभारा राजनीतिक दलले लिएको बताए। उनले केही साना दललाई काँग्रेसले औँला समाउन नदिए के हुन्छ भन्ने पिर रहेको भन्दै कटाक्ष गरेका छन् ।