सुनसरीमा तनाव: शव सडकमै राखेर स्थानीयले गरे राजमार्ग अवरुद्ध
सुनसरी-सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
गएराति १ बजे कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय शाहको मृत्यु भएको थियो । उनलाई दुई वटा गाली लागेको थियो ।
आफ्नै सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ चिनी, सर्फ र सुर्तीलगायत सामग्री लिएर आउँदै गरेका थिए ।
गोली प्रहार गर्नुअघि मालसामान ओसारपसारको विषयलाई लिएर केही समय दुई पक्षबीच विवाद भएको थियो ।
स्रोतका अनुसार बीओपी लौकहीबाट सशस्त्र प्रहरी हबलदारको कमान्डमा खटिएको चार जनाको चेकप्वाइन्ट टोलीले भारतबाट आउँदै गरेको २ वटा सिटी सफारीलाई चेकजाँच गर्न खोज्दा सिटी सफारीमा सवार व्यक्तिले दुई राउन्ड गोली फायर गरेको थियो । त्यसपछि सशस्त्र प्रहरी हबलदारले बोकेको एसएलआरबाट ५ राउन्ड गोली फायर गर्दा शाहको मृत्यु भएको हो ।
आज बिहान झन्डै १ सय ६० जनाको संख्यामा रहेको भीड घटनास्थलबाट बीओपीको मेनगेटमा आई ढुंगामुडा गरेको थियो । त्यसपछि बीओपीमा रहेको सशस्त्र प्रहरी निरीक्षकको कमान्डको रिजर्भ टोलीले २ सेल ग्याँस फायर गरी तितरबितर पारेको थियो ।
तर अहिले स्थानीयले शव नै सडकमा राखेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनरत स्थानीयले दोषीलाई तत्काल कारबाहीको माग गर्दै सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी समेत गरेका छन् ।
सुनसरी प्रहरीका अनुसार अहिले सीडीओ कार्यालयमा स्थानीय र प्रमुख जिल्ला अधिकारीबीच वार्ताको तयारी भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस