काठमाडौं  - नेपाली सङ्गीत जगत्का चम्किला तारा नारायणगोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको २९ वर्ष पुगेको छ ।

बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उहाँ विसं १९९६ असोज १८ गते काठमाण्डौमा जन्म भएको थियो । उहाँको विसं २०४७ मङ्सिर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भयो । बिहीबार उहाँको २९औँ स्मृति दिवसका अवसरमा नारायण गोपाल सङ्गीत कोषले उहाँको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।

उनका कालजयी गीतले नेपाली गीत–सङ्गीतको स्वरुप नै बद्लिदियो । हिन्दी गीतबाट प्रभावित त्यतिबेलाको समयमा उहाँका एकपछि अर्को गर्दै आएका विभिन्न गीतहरुले दर्शक, स्रोताको मन जित्न सफल भएका छन् । उनका गीत राष्ट्रिय भावले ओतप्रोत रहेका छन् । 

उनका गीत अहिलेका पुस्तामाझ पनि कर्णप्रिय बन्न सफल रहेका छन् । ‘एउटा मान्छेको मायाले कति’, ‘आँखा छोपी नरोऊ भनी’, ‘पर्खी बसेँ आउला भनी’, ‘यति धेरै माया दिइ’, ‘यो सम्झिने मन त’, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, ‘म त लालीगुराँस भएछु’, ‘ल सुन मेरो रामकहानी’, ‘यति चाखो यति मीठो’, ‘तिमीलाई म के भनु’लगायतका दर्जनौँ अजर अमर गीतमा नारायण गोपालले स्वर भरेका छन् ।