काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं आजदेखि अनिवार्य अवकाशमा गएका छन्।

उमेर हदका कारण सेवा निवृत्त भएका गुरागाईंलाई महानगरपालिकाले बुधबार औपचारिक रूपमा बिदाइ गरेको छ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८१ भदौ २७ गतेको निर्णयअनुसार २०८१ असोज ७ गते काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदभार ग्रहण गरेका गुरागाईं महानगरको इतिहासमै सोही पदबाट सेवा निवृत्त हुने पहिलो अधिकारी बनेका छन्।

बिदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, कार्यपालिका सदस्य, विभागीय प्रमुख तथा महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले गुरागाईंको प्रशासनिक नेतृत्व, कर्मचारी र जनप्रतिनिधिबीचको समन्वय तथा सहकार्यलाई महानगरले लामो समयसम्म स्मरण गर्ने बताइन्।

उनले “पद अस्थायी हो, सेवा स्थायी हो” भन्दै सेवा निवृत्तिपछि पनि उहाँको अनुभव समाज र संस्थाका लागि उपयोगी हुने विश्वास व्यक्त गरिन्।

सुशासन समितिका संयोजक ख्यामराज तिवारीले पनि महानगरपालिकाको संस्थागत विकासमा गुरागाईंको ज्ञान, सीप र अनुभव आगामी दिनमा समेत आवश्यक रहने धारणा राखे।