काठमाडौं - राजधानीको कमलादीबाट नक्कली सुन बरामद प्रकरणमा मुछिएका डिएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपीका रूपमा कार्यरत रहेका दाहाललाई प्रहरी प्रधान कार्यालयले जिम्मेवारीबाट हटाउँदै प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा तानेको हो ।

घटनास्थल परिवर्तन गरेको, माथिल्लो निकायलाई गुमराहमा पारेको र अभियुक्तलाई भगाएको प्रारम्भिक अनुसन्धानले देखाएपछि दाहाललाई जिम्मेवारीबाट हटाइएको प्रहरी स्रोतले बताएको छ ।

गत मंगलबार महानगरीय प्रहरी वृत्त दरबारमार्गले बरामद गरेको भनिएको १५ किलो सुनमध्ये साढे १४ किलो चाँदीमा पहेँलो लेप लगाइएको नक्कली र आधा किलोमात्रै सक्कली सुन पाइएको थियो ।

उक्त सुनसहित दुईवटा चाइनिज पेस्तोल प्रहरीले बरामद गरेको थियो । उक्त घटनामा संलग्न भएको आशंकामा ३ जना पक्राउ परेका छन् ।