सम्झौता बमोजिम मल नल्याउने सैलुङ र होविको कम्पनीमाथि कारबाही
काठमाडौं - सरकारले चरम अभावको समयमा समेत सम्झौता बमोजिम मल नल्याएको भन्दै २ कम्पनी विरुद्ध कानुनी कारबाही गर्ने निर्णय गरेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडको आइतबार बसेको बैठकले तोकिएको समयअवधिमा शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होविको मल्टिपल प्रालिले मल ल्याउन नसकेको भन्दै आवश्यक कानुनी कारबाही गर्ने निर्णय गरेको हो । लिमिटेडले उनीहरुले राखेको पाँच प्रतिशत बैंक धरौटी जफत गर्ने निर्णय गरेको छ ।
‘सम्पूर्ण सामान डेलिभरी गरी सक्नुपर्ने म्याद ५ सेम्टेम्बर अर्थात भदौ २० सम्म रहेकामा सो मितिमा समेत कम्पनीले माग गरेको भेसल नोमिनेसन, भेसलको नाम उपलब्ध नगराएको र सामान शिप मेन्ट हुने वा भएको कुनै बस्तुगत एवम् विश्वसनीय तथ्य प्रमाणहरु प्राप्त नभएकाले मिति २०७७–०५–२१ गतेको निर्णयअनुसार निज सप्तालर्यहरुले यस कम्पनीको नाममा राखेको कार्यसम्पादन जमानत जफत गरी सम्झौता रद्ध गरिएको छ’ निर्णयमा उल्लेख छ ।
ठेक्का सम्झौता भएको चार महिना बित्दा पनि दुवै कम्पनीले मल ल्याउन नसकेपछि कारबाहीस्वरूप धरौटी जफत गरिएको बताइएको छ । गत अप्रिल २४ र २७ मा ५० हजार मेट्रिय टन युरिया मल आयातका लागि शैलुङ इन्टरप्राइजेज र होविको मल्टिपलसँग सम्झौता गरिएको थियो ।
यी कम्पनीले समयमै मल ल्याउन नसक्ने भएपछी सरकारले बंगलादेश सरकारसँग ५० हजार मेट्रिक टन पैँचो समेत मागेको छ । त्यसका लागि दुई मुलुकका प्रधानमन्त्री स्तरमा समझदारीसमेत भैसकेको छ । उक्त परिमाणको युरिया सकेसम्म छिटो ल्याउने गरी परराष्ट्र मन्त्रालयमार्फत् प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस