काठमाडौं,एजेन्सी - फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार छैटौँ जित दर्ता गरेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेमाथि २-०को जित निकालेको हो । 

ब्राजिलको जितमा नेयमार र लुकास प्याक्वेटाले समान एक-एक गोल गरे । खेलको चौथो मिनेटमा नै गाब्रियल जेससको पासमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्ज्युरी समयको तेस्रो मिनेटमा नेयमारको पासमा प्याक्वेटाले गोल गर्दै ब्राजिललाई २-०को जित सुनिश्चित गरे । 

जितपछि दक्षिण अमेरिकी छनोटका शीर्षस्थानमा रहेको ब्राजिलको ६ खेलबाट १८ अंक पुगेको छ । पराजित पाराग्वे ७ अंक जोडेर छैटौँ स्थानमा रहेको छ ।