काठमाडौं - नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यु गिनी(पीएनजी)लाई २ विकेटले पराजित गरेको छ । पीएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ६३ बल अगावै पूरा गरेको हो । ब्याट्सम्यान रोहित पौडेल र सोमपाल कामीको उत्कृष्ट साझेदारीले नेपालले जित निकालेको हो ।

ओपनरद्वय कुशव भुर्तेल र आसिफ शेखको साझेदारी राम्रो भएपनि त्यसपछि आएका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । ८२/७ को अवस्थामा पुगेको बेला सोमपाल रोहितलाई साथ दिन मैदान प्रवेश गरेका थिए । रोहित ६५ बलमा ४१ रन जोड्दै आउट भएका थिए भने सोमपालले अविजित रहि ३२ बलमा २२ रन बनाए ।

कुशल भुर्तेल र आसिफ शेख क्रमश: १५ र ३० रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमै आउट भएका थिए । आरिफ शेख ९ र शरद भेषावकर ६ रनमा आउट भए । त्यस्तै कुशल मल्ल १ रनमै आउट भए ।

पवन सर्राफ भने शून्यमै आउट भए । पीएनजीका लागि डेमन राबू, चार्ल्स अमिनी र चाड सोपर र गौडी टोकाले २/२ विकेट लिए । त्यस्तै,नोसैना पोकनाले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनीले ३३ ओभरमा सबै विकेट गुमाउँदा १३४ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए ।