काठमाडौं - नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई काठमाडौं गोर्खाजले ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। दोस्रो खेलमा आज पहिलो संस्करणमा प्लेअफ खेलेका २ टिमबिच प्रतिस्पर्धा हुँदैछ। 

पहिलो सिजनमा तेस्रो भएको टोली चितवन राइनोजले चौथो भएको कर्णाली याक्ससँग खेल्दैछ। चितवन राइनोजको कप्तानी युवा खेलाडी मार्की कुशल मल्लले गर्दैछन्। कर्णाली याक्सको कमाण्ड सोमपाल कामीले सम्हालेका छन्। 

एक युवा प्रतिभा त अर्का अनुभवी दुई राष्ट्रिय टोलीका खेलाडीको कप्तानीको परीक्षण मंगलबारको पहिलो हेडरको खेलमा हुनेछ। चितवन र कर्णाली दुवै टिमले नेपाली प्रशिक्षकलाई विश्वास गरेका छन् । कर्णाली याक्सको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल रहेका छन्।

त्यस्तै, चितवनको प्रशिक्षकमा कलाम अली रहेका छन्। यी दुई नेपाली प्रशिक्षकको प्रशिक्षणको रुपमा यी दुई टोली पहिलो जितको खोजीमा रहनेछन्।

पहिलो सिजनबाट कर्णालीले प्रमुख प्रशिक्षकमा ज्ञानेन्द्रलाई विश्वास गरेको छ। दोस्रो सिजनमा चितवनको प्रशिक्षक फेरिएको छ। पहिलो सिजनमा उमेश पटवाल प्रशिक्षक रहेका चितवनको गत संस्करणमा बलिङ प्रशिक्षक रहेका कलाम अलीले टिमको प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्दैछन्।