काठमाडौं,एजेन्सी - एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ । गएराति भएको अन्तिम तथा निर्णायक खेलमा भालाडोलिडमाथि २-१ को पुनरागमन जित निकाल्दै एट्लेटिको च्याम्पियन बनेको हो । 

खेलको १८ औं मिनेटमा भालाडोलिडका ओस्कार प्लानोले गोल गर्दै अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा एन्जल कोर्रियाले  गोल गर्दै एट्लेटिकोलाई उपाधि होडमा फर्काए । ६७औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै खेलमा एटलेटिकोलाई २-१को जितको सुनिश्चित गर्दै उपाधिसमेत दिलाए । 

जितसँगै एटलेटिको ३८ खेलमा ८६ अंक जोड्न सफल रह्यो । दोस्रो स्थानको रियल म्याड्रिड भने ८४ अंक जोड्दै उपविजेतामा सिमित रह्यो । गएराति भएको खेलमा रियलले पनि भिल्लारियलविरुद्ध २-१ को पुनरागमन जित निकालेको थियो । तेस्रो स्थानमा रहेको बार्सिलोनाले भने अन्तिम खेलमा एइबारमाथि १-० को जित हासिल गर्दै  ७९ अंकसहित सिजन अन्त्य गरेको छ ।

एट्लेटिकोको यो ११ औं ला लिगा उपाधि हो । पछिल्लो पटक एट्लेटिकोले सन् २०१४ मा उपाधि जितेको थियो ।