काठमाडौं,विराटनगर - विश्वासको मत नपाउने भएपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन्। प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यतालिका अघि नै उनले राजीनामा दिन लागेका हुन्।

मुख्यमन्त्री आचार्यले प्रदेशसभाको बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन्। प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने वा राजीनामा गर्ने भन्ने विषयमा पार्टीका नेताहरूसँग परामर्श गरेका थिए। परामर्शमा नेताहरूले विश्वासको मत नपाउने अवस्था आए राजीनामा दिन सुझाव दिएका थिए।

आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय आइतबार नै गरिसकेको अवस्थामा आचार्यको राजीनामा आउन लागेको हो।

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ। तर प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन्। सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै छन्।