काठमाडौं - नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाले नेपालका कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको तथ्यांक विभागले जनाएको छ । जुन ११ राष्ट्रिय जनगणना २०६८ को तुलनामा २७ लाख ९७ हजार ९७६ जनसंख्या वृद्धि भएको हो । 

पुरुषको संख्या महिलाको तुलनामा कम छ । तथ्यांककाअनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेकाे छ । 

जनसंख्याको वार्षिक वृद्धिदर ०.९३ रहेको विभागले जनाएको छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।

अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ । सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । प्रदेशगतरुपमा मधेश प्रदेशको जनसङ्ख्या सबैभन्दा बढी छ भने कर्णाली प्रदेशको कम देखिएको छ ।

आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले नेपाल दुई करोड ९१ लाख नेपालीको प्यारो ढुकढुकी रहेको जनगणनाबाट देखिएकाले यस कार्यमा संलग्न सबैलाई धन्यवाद व्यक्त गरे । 

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले आफूहरुले नेपालको नयाँ नक्सामा समावेस लिपुलेक, कालापानी र लिम्पियाधुरामा पनि गणना गरिएको तथा विस्तृत विवरण आउन बाँकी रहेको बताए । पत्रकारको प्रश्नमा महानिर्देशक श्रेष्ठले छोरा र छोरीमा विभेद न्यून हुँदै गएको तथा छोरा पाउनकै लागि सन्तान बढाउने प्रवृत्ति अन्त्य हुँदै गएकाले पनि अपेक्षाकृतरुपमा जनसङ्ख्या बढ्न नसकेको हुन सक्ने जनाए। नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको हो ।