नेपाल प्रिमियर लिग : लुम्बिनीमाथि कर्णालीको सानदार जित
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबारको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको छ ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा शनिबार भएको पहिलो खेलमा ओपनर मार्क वाटको शतकप्रेरित कर्णाली याक्सले सानदार जित निकालेको हो । कर्णालीको यो पहिलो जित हो भने लुम्बिनीको पहिलो हार हो ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले दिएको १५७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कर्णालीले १२.२ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
कर्णालीका लागि वाटले ४४ बलमा ११४ रनको अविजित पारी खेले । विलियम बासिस्टो २९ रनमा अविजित रहे । यस्तै कर्णालीका ओपनर प्रियांक पञ्चालले १२ रन बनाए । लुम्बिनीका लागि एक मात्र विकेट शेर मल्लले लिए।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । सन्दीप जोरा १ रनमै पेभेलियन फर्किए । डार्सी सर्टले १९, जे जे स्मिथले २३ रन बनाए। रुबिन ट्रम्पलमेन २९ र शेर मल्ल ७ रनमा अविजित रहे ।
कर्णालीका लागि नन्दन यादवले २ विकेट लिँदा, सोमपाल कामी, विलियम वासिस्टो, गुल्सन झा, मार्का वाट, विपिन शर्मा र युवराज खत्रीले १–१ विकेट लिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस