ढलमा देखिएको कोरोना भाइरस व्यक्तिमा सरेको प्रमाण छैन : मन्त्रालय
काठमाडौं - सरकारले राजधानीको ढलको पानीको नमुनामा देखिएको कोरोना भाइरस (कोभिड-१९) भेटिए पनि त्यो मानिसमा नसर्ने बताएको छ। आइतबार नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो बताएका हुन्।
‘राजधानीको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना देखियो भन्ने समाचारमा हाम्रो ध्यानाकर्षण भएको छ’, प्रवक्ता गौतमले भने, ‘विश्वमा अन्यत्र भएका अध्ययनले व्यक्ति कोभिड-१९ बाट संक्रमित रहेकै अवस्थामा वा निको भइसकेपछि पनि ढलमा कोभिड-१९ भाइरल आरएनए फ्र्यागमेन्ट अर्थात् भाइरसका टुक्राटाक्री भेटिएको देखिन्छ। जुन सामान्यतया रोग सार्ने खालको हुँदैन।’
प्रवक्ता गौतमका अनुसार ढलको पानीमा कोरोना भाइरस दुई दिनसम्म बाच्ने भए पनि यो मानिसमा सर्न नसक्ने अध्ययनले पुष्टि गरेको जानकारी दिए। ढलमा अन्य विभिन्न किटाणु हुने भएकाले ढल व्यवस्थापनमा काम गर्ने व्यक्तिले सुरक्षाका उपाय भने अपनाउनुपर्ने बताए। उनले ढलमा कोरोना भाइरस देखियो भनेर कोरोना संक्रमणले जटिल रुप लियो र फैलियो भन्नु गलत भएको प्रष्ट पारे।
प्रवक्ता गौतमले ढलको पानीमा कस्ता भाइरस फेला परेका हुन् भन्ने विषयमा मन्त्रालयले थप अध्ययन गर्ने प्रष्ट पारेका छन्। उनले ढलमा भाइरस देखियो भन्दैमा नआत्तिन र नडराउन अनुरोध गर्दै यस्तो बताएका हुन्।
फेसबुक पेज Like गर्नुहोस