विदेशमा पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकाले होटलमा बस्नु नपर्ने
काठमाडौं - संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने स्पष्ट पारेका छन्।
विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटन मन्त्रीले पिसिआर रिपोर्ट नेगेटिभ आउनेहरु सिधै घर जान पाउने बताए। सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्वारेन्टिनमा ७ दिन राख्ने निर्णय गरेको थियो।
कोरोना संक्रमणको दर कम भएका र पिसिआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुलाई रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने मन्त्रीकाे भनाइ छ।
उनले भने ‘‘जहाँ पिसिआर परीक्षण सहज हुन्छ, कोरोना संक्रमणको दर पनि कम छ त्यस्तो ठाउँबाट पिसिआर परीक्षण गरेका प्यासेन्जर बोकेर मात्र आउने हो। कुन कुन देशहरु भन्ने भोलि फाइनल सूची सार्वजनिक हुन्छ।’
पिसिआर गरेका यात्रुहरुले सरकारले वेवसाइटमा राखेको फर्म भर्नुपर्छ। नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ र नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाएमा १४ दिन आफ्नो घरमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित घर जान दिइने मन्त्री भट्टराईले बताए।
पिसिआर परीक्षण सहज नभएका मुलुकहरुका लागि उद्धार उडान गरिने उनले बताए। पिसिआर परीक्षण नगरी नेपाल आउने नागरिकले होटल क्वारेन्टिनमा बस्नुपर्ने उनको भनाइ छ।
अर्को देशबाट आएर क्वारेन्टिनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अन्य मुलुकहरुमा समेत रहेको उल्लेख गर्दै उनले ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टिनमा बस्न सकिने बताए।
फेसबुक पेज Like गर्नुहोस