काठमाडौं - भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १७० जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालय सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले आइतवार साँझ पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएका हुन् ।

प्रवक्ता तिवारीले असोज १० गतेदेखि देशका अधिकांश ठाउँमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाबाट हालसम्म १७० जनाको मृत्यु र ४२ जना बेपत्ता भएको जानकारी दिए । उनले १११ जना व्यक्ति घाइते रहेको बताए।

उनले विपद्‌बाट प्रभावितको खोज तथा उद्धारका लागि सबै सुरक्षानिकाय परिचालन भई निरन्तर काम गरिरहेको जानकारी गराए।

उनले हालसम्म ४ हजार विपद्प्रभावितको उद्धार गरिएको र काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुरलगायतका जिल्लामा विभिन्न ठाउँमा घाइते भएका र अलपत्र परेका १६२ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्नुका साथै खाद्यान्न साथै आपत्‌कालीन राहत सामग्री उपलब्ध गराइएको बताए।