कोरोना संक्रमणको चेन तोड्न मुलुकका ७२ जिल्लामा निषेधाज्ञा
काठमाडौं - मुलुकमा पछिल्लोसमय ह्वात्तै बढेको कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२ पुगेको छ।
गृह मन्त्रालयका अनुसार हाल देशका ६५ जिल्लामा पूर्ण निषेधाज्ञा जारी छ भने धनकुटा, सिन्धुपाल्चोक, ताप्लेजुङ, मकवानपुर, काभ्रे, सप्तरी र रामेछापमा आंशिक निषेधाज्ञा लगाइएको छ । अब निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको संख्या पाँच मात्रै छ। जसमा मनाङ, मुस्ताङ, खोटाङ, रुकुम पुर्व र तेह्रथुम रहेका छन् ।
सरकारले अवस्था हेरेर निषेधको आदेश जारी गर्नसक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।
कोरोनाबाट नेपालमा मंगलबार मात्र हालसम्मकै बढी संक्रमण र मृत्यु भएको छ । ९ हजार ४८३ जनामा संक्रमण पाइएको छ भने एकै दिन २२५ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस