काठमाडौं - नेपालले बंगलादेशमा आयोजना भएको  यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । 

खेलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो ।  खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।

खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा ल्याईन् ।

त्यसपछि खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो । बंगलादेशकी बीबी रिताले पेनाल्टीमा गोल गर्न चुमिन् । नेपालकी गोलकिपर सुजताले उत्कृष्ट बचाउ गरिन् । त्यसपछि थप गोल हुन सकेन । 

यस बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै नेपालले उपाधि उचाल्न सफल  भयो । बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो । प्रतियोगितामा नेपाल, भुटान र बंगलादेशको सहभागिता रहेको थियो ।