काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति फेरि कडा चेतावनी दिएका छन्। स्ट्रेट अफ हर्मुज खुला राख्न दिएको समयसीमा नजिकिँदै गर्दा उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा यस्तो चेतावनी दिएका हुन्। ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, “आज राति एउटा सम्पूर्ण सभ्यता नै समाप्त हुन सक्छ, जुन फेरि कहिल्यै फर्किने छैन।”

उनले आफू यस्तो अवस्था नहोस् भन्ने चाहना रहेको उल्लेख गर्दै पनि परिस्थिति त्यसतर्फ जान सक्ने संकेत गरेका छन्। ट्रम्पले लेखेका छन्, “म यस्तो हुन नदिऊँ भन्ने चाहन्छु, तर सम्भवतः त्यही हुन सक्छ।”

साथै उनले इरानमा पूर्ण रूपमा शासन परिवर्तन भएको दाबी गर्दै अब त्यहाँ “अझ बुद्धिमान र कम कट्टरपन्थी सोच भएका मानिसहरू” सत्तामा आएमा सकारात्मक परिवर्तन सम्भव हुन सक्ने टिप्पणी गरेका छन्।

ट्रम्पले पोस्टको अन्त्यमा लेखेका छन्, “कसलाई थाहा ? आज राति के हुन्छ थाहा पाउनेछौँ। यो विश्व इतिहासकै सबैभन्दा महत्वपूर्ण क्षणहरूमध्ये एक हुन सक्छ। ४७ वर्षदेखि चलिरहेको धम्की, भ्रष्टाचार र मृत्युको अन्त्य हुनेछ। महान् इरानी जनतालाई भगवान् आशीर्वाद दिनुहोस्।”

अमेरिका–इरानबीच तनाव चुलिँदै जाँदा हर्मुज जलडमरूमध्यको अवस्थालाई लिएर विश्वभर चिन्ता बढिरहेको छ। विश्वको ठूलो हिस्सा तेल आपूर्ति यही मार्गबाट हुने भएकाले यस क्षेत्रमा हुने कुनै पनि सैन्य वा राजनीतिक कदमले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्छ।