काठमाडौं, पोखरा - मौफसलको सर्वाधिक राशि पुरस्कार भएको आहा–रारा गोल्डकप फुटबलको उद्घाटन खेल सहारा क्लब पोखरा र विभागीय टिम एपीएफबीच हुने भएको छ ।  

मंगलबार सार्वजनिक खेल तालिका अनुसार माघ ६ गते हुने उद्घाटन खेलमा आयोजक टिम सहारा र एपीएफ भिड्ने भएका हुन् । 

पोखरा रंगशालमा हुने खेलमा गत वर्षको विजेता टोली संकटा क्लब, पाहुना टोली बिवाईएससी माईनसोटा अमेरिका, मछिन्द्र क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लब गरी कुल १० टिम सहभागी छन्  । 

तत्काललाई केही दिन दर्शक बिना नै प्रतियोगिता सञ्चालन गर्ने तयारी रहेको सहारा क्लबका अध्यक्ष हरेराम गुरुङ ‘सुरज’ले जानकारी दिए । 

माघ ६ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने २० औं संस्करणको प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ र उपविजेता टिमले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।