मुम्बई - बलिउड अभिनेता सुशान्त सिंहको मृत्युपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई गाली र धम्की दिएको छ । उनलाई सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारको गाली र धम्की दिएको हो । रियाले एउटा यस्तै मेसेजको स्क्रिनसट सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् जसमा उनलाई बलात्कार र हत्या गरिदिने धम्की दिइएको छ ।

उनले भनेकी छन्, ‘मलाई हत्यारा भनियो तर पनि म चुप बसेँ ।’ रियाले स्क्रिनसट सार्वजनिक गर्दै लेखेकी छन्, ‘मलाई गोल्ड डिगर (पैसाका लागि कसैलाई पनि फसाउने) भनियो… म चुप बसेँ । मलाई हत्यारा भनियो… म चुप बसेँ… मेरो चरित्रमाथि औंला उठाइयो तर पनि म चुप बसेँ ।

तर म चुप बस्दा तिमीले मलाई मैले आत्महत्या नगरेको खण्डमा मेरो बलात्कार र हत्या गराइदिने भन्ने अधिकार तिमीलाई कसले दियो ? तिमीले जे भनिरहेकी छौं, त्यसको गम्भीरताबारे अलिकति पनि महशुस भएको छ ? यो अपराध हो र कानुनी रुपमा कसैलाई पनि यसरी प्रताडित गरिनु हुँदैन ।’ रियाले यो पोस्टसहित साइबर क्राइम हेल्पलाइनलाई ट्याग गरेर कारबाही गर्नका लागि पनि आग्रहसमेत गरेकी छन् । यसअघि अभिनेता सुशान्तको आत्महत्याको विषयमा केन्द्रित रहेर प्रहरीले रियासँग ११ घण्टासम्म सोधपुछ गरेको थियो ।