काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्‌मा जारी अवरोध खुलाउन चाहेको हो भने प्रधानमन्त्री र सभामुखले पार्टीका संसदीय दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्नुपर्ने माग गरेको छ। बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा एमाले सांसद एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले सो माग गरेका हुन् ।

नेता अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले ओलीसँग व्यक्तिगत रुपमै भेटेर छलफल गर्नुपर्ने बताएका हुन्। ‘तपाईंहरूले साँच्चिकै अवरोध खुलाउन खोज्नुभएको हो भने सभामुखले प्रमुख प्रतिपक्ष दलको नेतासँग व्यक्तिगत रुपमै भेट्नुहोस्, ज्ञानेन्द्रबहादुर कार्कीलाई सिधै तपाईंको प्रधानमन्त्रीलाई संसदीय दलको नेतासँग भेट्नुहोस् किन निहुँ खोज्नुहुन्छ भनेका थियौँ’, उनले भने, ‘नेकपा एमाले कानुन र संविधानको रक्षाका लागि दृढताका साथ संसद्‌मा उभिरहन्छ। संविधान, कानुन मिचेर बनाइएको र सरकारमा समावेश भएको दललाई मान्यता दिइएको बैठकमा हामी जाँदैनौँ।’

अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको सन्तानजस्तो भएको टिप्पणी पनि गरे।