काठमाडौं - बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान भएको छ ।

शनिबार राति निजगढ नगरपालिका-१३ स्थित भक्तलाल खोलाको बगरमा इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरी र तस्करहरुको समूहबीच गोली हानाहान भएको हो ।

सो क्रममा प्रहरीले एक जनालाई बन्दुकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ४७ वर्षीय ईमान सिंह तामाङ रहेका छन् । उनीहरुको साथबाट १०२ किलो गाँजा र १ थान भरुवा बन्दुक पनि बरामद भएको छ ।

फरार अन्यको खोजी भैरहेको र पक्राउ परेका ईमानलाई हातहतियार खरखजाना र लागु औषधसम्बन्धि मुद्धा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।