काठमाडौं-नेकपा एमालेका सांसद ठाकुर गैह्रेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाहीको माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संवाद सचिव पाठकका नाममा जारी भएको समवेदना सन्देश संविधान विपरीत आएको बताएका हुन् ।

शनिबार संवाद सचिवको रुपमा पाठकले संवेदना वक्तव्य जारी गरेका थिए । उक्त वक्तव्यमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको संवेदना सन्देश’ लेखिएको भनेर उनले सरकारको ध्यानाकर्षण गरे ।

सांसद गैह्रेले नेपालको संविधानमा श्री ५ महाराजाधिराज भन्ने शब्द कहाँ छ भन्ने प्रश्न समेत गरे ।

उनले कानुनी राज्य र संविधानको उपहास गर्ने संवाद सचिव डा.पाठक र पूर्वराजा शाहलाई संविधान र कानुन अनुसार तत्काल कारबाही गर्न माग गरे ।