काठमाडौं - नेपाल र भारतबीच उत्पन्न सीमा विवादका सन्दर्भमा दिएको अभिव्यक्तिको कारण विवादमा परेकी नायिका वर्षा राउतले माफी मागेकी छिन् ।

एउटा भिडियोमा राउतले देशको सीमाको बारेमा दुई देशका पत्रकारहरुबीच झगडा भएको र यसले आफुलाई भारतीय साथीहरुसँग फेस गर्न गाह्रो भएको बताएपछि उनको चर्को आलोचना भएको हो ।

भिडियो क्लीपमा वर्षाले भनेकी छन् ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् । मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।’

सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि नायिका राउतले सामाजिक सञ्जालबाट स्पष्टीकरण दिँदै क्षमा मागेकी हुन् । नायिका राउतले लेखेकी छिन्–

‘कलाकार हुँ, त्यसमाथि भावुक स्वभावकी छु । त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर, एउटा अन्तर्वार्तामा लिएर जुन हो–हल्ला गरियो । यसले मलाई भावनात्मक ठेस पुगेको छ । प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनैकुरामा चुकेँ होला । बोल्दै जाँदा जिब्रो चिप्लियो होला । तर, मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन । अलिकति पनि तलमाथि परेकी छैन। हाल लिम्पियाधुरा, लिपुलेक र कालापनीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्ठता देखाएको छ म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर, म जस्तो एउटा व्यक्ति, एउटा नागरिकले मात्र समर्थन गरेर हुँदैन । हामी सबै नेपालीसँगै उभिएर समर्थन गर्नुपर्छ । वार्ता गर्ने उचित वातावरणको समर्थन गर्नुपर्छ । सत्य र तथ्यको समर्थन गर्नुपर्छ ।दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न भड्काउ तत्वहरू लागेका छन् । जुनकुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट पनि देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।’