काठमाडौं - गृहमन्त्री रवि लामिछाने र महान्यायाधीवक्ताको कार्यालयविरूद्ध परेको रिटको सुनुवाइ आज पनि स्थगित भएको छ ।

अधिवक्ता अनुपम भट्टराईले नै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ स्थगन गर्न निवेदन दिएपछि आज पनि सुनुवाइ नगरिएको हो। उक्त रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको थियो । उक्त मुद्दा आज तेस्रो नम्बरमा पेशी रहेको थियो ।

न्यायाधीश पोखरेलले यसअघि लामिछानेका केही मुद्दामा कानुन व्यवसायीको रूपमा बहस गरेका थिए । उनले बुधवार सोही कुरा राखेर हेर्न नमिल्ने बारे जिज्ञासा राखेका थिए । तर न्यायाधीशले भने आफू नियुक्ति अघिको विवाद नहेर्ने र नियुक्ति पछिको हेर्ने जवाफपछि स्थगित गराइएको थियो । यसअघि बुधवार पनि पोखरेलकै इजलासमा पेशी तोकिएको थियो ।

उक्त इजलासमा स्थगित गर्ने निवेदन दिएर हटाइएको थियो । महान्यायाधिवक्ताको कार्यालयले गत वैशाख २४ गते गृहमन्त्री लामिछानेलाई सहकारीको रकम हिनामिनामा कुनै उजुरी/जाहेरी नरहेको पत्र दिएको थियो। पत्रमा कार्यालयले रुपन्देही, कास्की र चितवनमा बुझ्दा लामिछानेविरूद्ध उजुरी/जाहेरी नरहेको र अनुसन्धान तथा अभियोजन समेत भएको नदेखिएको उल्लेख गरेको थियो।

महान्यायाधिवक्ता कार्यालयको पत्रविरूद्ध अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। लामिछानेले अनुसन्धान गर्ने निकाय गृह मन्त्रालयकै नेतृत्वमा भएकाले उनलाई पदबाट निलम्बन गरी सहकारी ठगीको छानबिन हुनुपर्ने माग रिटमा गरिएको छ।