कोरोनामुक्त बन्यो वुहान
काठमाडौं - कोरोना भाइरसको मुहान मानिएको चीनको वुहान शहरका अस्पतालमा अब कोही पनि कोरोना संक्रमित बिरामी बाँकी छैनन् । चीनको स्वास्थ्य अधिकारीले आइतबार यस्तो जिकिर गरेका हुन् ।
स्वास्थ्य अधिकारीहरुका अनुसार हुबेई प्रान्तको राजधानी वुहानको अस्पतालमा अब कोही पनि कोरोनाको बिरामी भर्ना भएका छैनन् । वुहानबाट गत अप्रिल ८ मा लकडाउन हटाइसकिएको छ । त्यहाँ ७६ दिनसम्म लकडाउन गरिएको थियो ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फेंगले बेइजिङमा पत्रकार सम्मेलन गर्दै भने, ‘स्वास्थ्यकर्मीहरुले कठिन प्रयास र चिनियाँ जनताको मेहनतबाट हामीले यो लक्ष्य हासिल गरेका छौं ।’समाचार एजेन्सी सिन्ह्वाका अनुसार वुहानमा भर्ना भएका कोरोना भाइरसका अन्तिम बिरामी शुक्रबार ठिक भएर घर फर्किएपछि अस्पताल कोरोना बिरामी मुक्त भएको हो ।
चिनियाँ अधिकारीहरुका अनुसार हुबेई प्रान्तमा ५० भन्दा कम कोरोना संक्रमित बाँकी छन् । यहाँ पछिल्लो २० दिनमा संक्रमणको कुनै नयाँ केस देखिएको छैन । चीनमा पछिल्लो २४ घण्टामा ११ नयाँ कोरोना संक्रमित भेटिएका छन् । यीमध्ये पाँच संक्रमित बाहिरबाट आएका हुन् भने ६ जना स्थानीयहरु हुन् ।
चीनमा अहिलेसम्म ८२ हजार संक्रमितहरुमध्ये पछिल्लो ११ दिनमा मृत्यूको कुनै घटना सार्वजनिक भएको छैन । चीनमा अहिलेसम्म ८२ हजार ८२७ जना संक्रमित भएका छन् । यीमध्ये ४ हजार ६३२ मानिसको मृत्यू भएको छ ।
फेसबुक पेज Like गर्नुहोस