अमेरिकामा भीषण हिमपात, हवाई उडानहरू रद्द
काठमाडौं,एजेन्सी - अमेरिकासिथत पूर्वी तटीय क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण हवाई उडानहरू रद्द गरिएको र कोरोना भाइरसविरुद्ध खोप दिँदै आइएका केन्द्रहरू समेत बन्द गरिएको बताइएको छ ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार न्युयोर्क र न्युजर्सीमा संकटकाल घोषणा गरिएको छ । राष्ट्रिय मौसम सेवाले दिएको जानकारी अनुसार ती स्थानहरूमा निकै बाक्लो हिउँ जमेको छ । स्थानीय समयअनुसार सोमबार मध्यदिनसम्म न्युजर्सी र पेन्सल्भेनियामा २० इन्च र न्युयोर्कमा १७ इन्च हिउँ जमेको बताइएको छ । बुधबारदेखि हिमपात केही कम हुने मौसम सेवाले जनाएको छ ।
न्युयोर्कमा सोमबार बिहानैदेखि अत्यावश्यक पर्दाबाहेक अन्य यात्रामा प्रतिबन्ध लगाइएको छ । हिमपातका कारण मंगलबार शैक्षिक संस्थाहरू बन्द गरिएका छन् । हिमपातका कारण करिब २ हजार उडान रद्द भएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस