काठमाडौं - घरेलु टिम इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारतले फराकिलो जित हात पारेको छ । सोमबार राति उत्कृष्ट प्रदर्शनका साथ भारतले इंग्ल्यान्डमाथि १ सय ५१ रनको सानदार जित निकालेको हो । 

जितको लागि २ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङमा ५१.५ ओभरमा १ सय २० रनमा अल आउट हुन पुगेको हो । इंग्ल्यान्डका लागि कप्तान जो रुटले सर्वाधिक ३३ रनको योगदान दिए । त्यस्तै, जोस बट्लरले २५ रन र मोइन अली १३ रन जोड्नबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । इंग्ल्यान्डलाई सस्तैमा समेट्न भारतका मोहम्मद शिराजले सर्वाधिक चार विकेट लिए । बुमराहले तीन, ईशान्त शर्माले दुई मोहम्मद शामीले एक विकेट लिए ।

त्यसअघि दोस्रो इनिङमा भारतले पाँचौं दिन दोस्रो सेसनमा १०९.३ ओभरमा ८ विकेटको क्षतिमा २९८ रन बनाउँदै अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो। भारतका लागि अजिन्का रहानेले ६१ रनको अर्धशतकीय इनिङ्स खेल्दा मोहमद शामीले ५६ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । त्यस्तै, चेतेश्वर पुजाराले ४५ रन, ऋषव पन्तले २२, रोहित शर्माले २१ र कप्तान विराट कोहलीले २० रन जोडे भने जस्प्रित बुम्राह ३४ रनमा अविजित रहे । इंग्ल्यान्डका मार्क वुडले तीन विकेट लिँदा मोईन अली र ओली रोबिन्सनले दुई दुई विकेट लिए । साम करनले एक विकेट लिएका छन् ।

पहिलो इनिङमा लर्ड्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत १२६.१ ओभरमा ३ सय ६४ रनमा अल आउट भएको थियो । त्यसपछि जवाफी व्याटिङमा आएको इंग्ल्यान्डले पहिलो इनिङमा १ सय २८ ओभरमा ३ सय ९१ रनमा अल आउट भएको थियो । जितसँगै पाँच टेस्ट खेलमा पाहुना टोली भारतले १-० को अग्रता लिएको छ । पहिलो खेल बराबरीमा सकिएको थियो ।