निर्वाचन आयोगद्वारा चुनावको तयारी
काठमाडौं - सरकारले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेपछि निर्वाचन आयोगले आजबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गरेको छ । आयोगले आजबाट देशैभरका पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गरेको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आज सबै पालिकाहरुको केन्द्रमा मतदाता नामावली गर्न सूची प्रकाशित हुनेछ । भोलि र पर्सि दुई दिन यो नामावलीमाथि दाबी विरोध गर्न पाइनेछ ।
नामथर त्रुटि भएमा सच्याउन निवेदन दिने, ज्यान गुमाएका वा बसाइ सरेर गएका र दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सूचना दिने तथा झुट्टा विवरण दिएर कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यसविरुद्ध उजुरी दिन सकिने प्रवक्ता श्रेष्ठको भनाई छ ।
उनका अनुसार आउँदो २१ गतेसम्म नामावली अद्यावधिक गरिने छ । यसपछि मतदाताको नामावली जिल्ला जिल्लामा पुग्ने छ र जिल्लाले निर्वाचन आयोगमा मतदाता नामावली पठाउने छ। आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
सरकारले वैशाख १७ र २७ गतेका लागि निर्वाचनको घोषणा गरेको छ । यद्यपी, प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै सर्वोच्चमा परेका एक दर्जन रिटमाथि संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस