एजेन्सी - विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले कोरोना भाइरसको महामारी रोकिन लामो समय लाग्ने बताएको छ । महामारीकै कारण स्वास्थ्य सेवाबाट धेरै बन्चित रहेकाले तत्काल संकट पार नलाग्ने बताएको हो ।

महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले सोमबार जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा भने 'हाम्रो अघि निकै लामो बाटो छ र थुप्रै काम गर्न बाँकी नै छ, महामारी रोकिन समय लाग्छ ।'

केही धनी राष्ट्रमा संक्रमण स्थिर वा कम हुँदै गएको भएपनि अफ्रिका, पूर्वी यूरोप, ल्याटिन अमेरिका र केही एसियाली देशहरूमा संक्रमण र सोका कारण हुने मृत्यु बढेकोप्रति गेब्रियससले चासो व्यक्त गरे ।

‍चिनियाँ शहर वुहानमा गत वर्ष डिसेम्बरबाट देखा परेको कोरोना भाइरसबाट विश्वभरमा ३० लाख मानिस संक्रमित भएका छन्। २ लाख १० हजार बढीले ज्यान गुमाएका छन् ।

महानिर्देशक टेड्रोसले सम्मेलनमा कोरोना भाइरस महामारीको प्रभाव बालबालिकाको खोप कार्यक्रममा परेको समस्या प्रति चिन्ता व्यक्त गरेका छन्।