काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले संसदमा नेपाली कांग्रेसले गरिरहेको नाराबाजी औचित्यहीन भएको आरोप लगाएका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद वाग्लेले यस्तो बताएका हुन् ।

सांसद वाग्लेले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग गर्दै कांग्रेसले संसदमा गरिरहेको प्रस्तुति कर्मकाण्डी भएको बताए ।

उनले ६५ वर्ष अगाडि बीपी कोइरालाले स्थापित गरेको मानकलाई आजको अवस्थाले लज्जित बनाएको टिप्पणी गरे ।

सांसद वाग्लेले भने, ‘असहज वातावरणमा यसरी गरिमामय संसदमा उपस्थित भएर बोल्नुपर्ला जस्तो मलाई लागेको थिएन । ६५ वर्षअगाडि नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर, सबैका प्रेरणा, मेरा राजनीतिक आदर्श बीपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पुर्‍याउनलाई यो लज्जास्पद, औचित्यहीन विरोधप्रति घोर खेद छ ।’

उनले सो अभिव्यक्ति दिइरहँदा कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका थिए । केही सांसदले चर्को आवाजमा होहल्ला समेत गरे । कांग्रेसले बीपी कोइरालाले स्थापित गरेको मानकलाई यो अवस्थामा पुर्‍याएर लज्जास्पद कार्य गरेको सांसद वाग्लेले बताए ।

नीति तथा कार्यक्रममा छलफल गर्नुको सट्टा कांग्रेसको विरोध र सहकारीबारे वाग्ले बोलिरहेपछि सभामुख देवराज घिमिरेले विषयमा केन्द्रित भएर अभिव्यक्ति दिन सचेत गराएका थिए ।