काठमाडौं - सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आइतबार हुँदैछ । यो मुद्दा हेर्ने जिम्मा न्यायाधीशद्वय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा रहेको छ ।

गत असारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको कैद अवधि घटाउने निर्णय गरेका थिए ।

पूर्वडीआईजी कोइरालालाई श्रीमती गीता ढकालको हत्या गरी शव नष्ट गरेको दोषी ठहर गरी जिल्ला अदालत काठमाडौँले विसं २०७१ वैशाख ७ गते सर्वश्वसहित जन्मकैदको सजाय ठहर गरेको थियो र पछि पुनरावेदन अदालत पाटनले पनि जिल्ला अदालतको सोही फैसलालाई सदर गरेको थियो ।

तर जबरा र केसीले भने १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सर्वोच्चको सो फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन् ।

सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सोही दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।