काठमाडौं - साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको हो ।

यसअघि नेपाल र माल्दिभ्सले प्रतियोगिता गर्न प्रस्ताव गरेका थिए । प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड-१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नयाँ आयोजक राष्ट्र चयन गरिएको हो ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ । १३ औं साफमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भईसकेको छ ।

साफको लागि नेपाली टोलीले तयारी सुरु गरिसकेको छ । बन्द प्रशिक्षणमा ३७ खेलाडी रहेका छन् । साफ अघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।