काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकामा डेंगु नियन्त्रण गर्ने विषयमा उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा डेंगु संक्रमितको संख्या वृद्धि भएसँगै महामारीको रुप लिन सक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न मन्त्री पौडेलले स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गरेका हुन्् ।

छलफलमा मन्त्री पौडेलले स्थानीय तहसँग मिलेर काम गर डेंगु नियन्त्रण गर्न सकिने बताए । उनले नीतिगत निर्णय र थप सहकार्यका लागि मन्त्रालय तयार रहेको उल्लेख गरे । ‘उपत्यकामा डेंगु नियन्त्रण हामीले प्राथमिकतामा राखेका छौँ’, उनले भने, ‘आम नागरिकलाई जोगाउन सहकार्य जरुरी छ ।’

साउनदेखि फैलिएको डेंगु भदौ र असोजमा थप फैलन सक्ने जोखिम रहेको विज्ञहरुको भनाइ उद्धृत गर्दै मन्त्री पौडेलले भयावह हुन नदिन स्थानीय तहबाट साथ र सहकार्यको अपेक्षा गरेको बताए । उनले सरसफाइको कमीका कारण संक्रमण फैलने भएकाले मन्त्रालयले देशैभर सातामा एक दिन एकै समयमा सफाइ अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । उक्त सफाइ अभियानमा स्थानीय तह र प्रदेशको साथ मिलेमा देशैभर सफाइ अभियान थालिने उनले बताए ।

हाल मन्त्रालयले डेंगु जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क स्थापना गरी उपचार थालेको छ । अब उपचारसँगै थप संक्रमण हुन नदिन वडा तहसम्म सचेतना विस्तार गर्न उनले आग्रह गरे । मन्त्रालयले स्थानीय तहलाई हरसम्भव साथ दिने प्रतिबद्धता उनले जनाए ।