काठमाडौं उपत्यकाको निषेधाज्ञा १७ गतेसम्म
काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि एक साता थपिएको छ । भदौ ३ गतेदेखिको निषेधाज्ञा बुधबार सकिँदै गर्दा पुनः एक हप्ता थपिएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै भदौ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
त्यस्तै मंगलबार जिल्ला कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी) र काठमाडौंका मेयरहरुबीच भएको छलफलले पनि निषेधाज्ञा बढाउन सुझाव दिएको थियो ।
निषेधाज्ञा बढाए पनि जनचेतनामा भने अझै कमी रहेको पाइएको छ । मानिसहरु नियमित रुपमा बाहिर निस्किएका छन् भने तरकारी तथा फलफूल पसलमा उल्लेख्यमात्रामा भीड बढ्दै आएको छ ।
त्यसैगरी सरकारले समुदाय स्तरमा कोरोना भाइरस फैलँदा समेत पीसीआर परीक्षणलाई चुस्त बनाउन सकेको छैन । परीक्षण गरिएको रिपोर्ट समेत निकै ढिला गरी दिने गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस