काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृंखलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी गर्नुभएके छ।

अध्यक्ष ओलीले साेमबार राति एक विज्ञप्ति जारी गर्दै सरकारले प्रतिशोध साध्न खोजेको र दमनकारी कदमको डटेर सामना गर्ने बताउनुभएकाे हाे। वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा भएकाे उहाँकाे ठहर छ। साेही दमनकारी कदम आफू र पार्टी एमालेमाथि लगातार भइरहेका शृंखलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट भएकाे उहाँकाे धारणा थियाे ।

अध्यक्ष ओलीले पूर्वनिर्धारित कार्यतालिका हुँदाहुँदै विधिको शासन र सामान्य कानूनी प्रक्रियाको धज्जी उडाएर गिरफ्तारी गरिएको उल्लेख गर्नुभयाे । सोधपुछका अन्य विकल्प हुँदाहुँदै सरकारले सस्तो लोकप्रियताका लागि यस्तो हर्कत गरेको उहाँको निष्कर्ष रहेकाे छ । सार्वजनिक पद धारण गरिसकेका र कानूनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो ‘स्टन्ट’ र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको जारी विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष ओलीले वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको र यस्ता हर्कत तत्काल रोक्न चेतावनी दिनुभयाे। उहाँले विपक्षी दलमाथिको प्रहार बन्द नभए त्यसको परिणाम राम्रो नहुने उहाँकाे भनाइ छ । ‘वर्तमान सरकार अलोकतान्त्रिक‚ सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख छ । हामी सरकारलाई चेतावनी दिन चाहन्छौं-विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस्, जारी विज्ञप्तिमा भनिएको छ ।’