प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच वार्ता
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा साइडलाइन वार्ता भएको छ ।
मंगलबार भएको भेटवार्तामा द्विपक्षीय घनिष्ठ सम्बन्धलाई अझै मजबुत बनाउने विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । देउवा प्रधानमन्त्री भएपछि मोदीसँग पहिलो औपचारिक भेटवार्ता भएको हो । भेटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्कर र नेपालका परराष्ट्र सचिव भरतराज पौड्याललगायत सहभागी रहेका थिए ।
सोमबार ग्लास्गोमै रात्रिभोजमा दुई नेताबीच जम्काभेट भएको थियो । आजको भेटमा जलवायु परिवर्तनको असर र कोभिड-१९ महामारीबारे पनि छलफल भएको बताइएको छ । महामारीविरुद्ध मिलेर काम गर्ने संकल्प दुबै नेताले गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अधिकारीले भेटमा दुबै प्रधानमन्त्रीको भ्रमणका विषयमा पनि भएको जनाएका छन् । पहिले मोदी नेपाल आउने र त्यसलगत्तै देउवा भारत भ्रमणमा जाने विषयमा छलफल भएको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस