चितवन - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी छानबिन समितिमा आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताएका छन् ।

भरतपुर विमानस्थलमा बोल्दै सभापति लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका हुन्।

सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए।

सभापति लामिछानेले भने,’आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो। त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिने अवसरका रुपमा हेरेको छु ।’

सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई १० घण्टा लामो बयान दिएका थिए। उनले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताए ।

ग्यालेक्सी टिभीका अध्यक्ष राईको सम्पत्तिको स्रोतको विषयमा हेर्ने काम राज्यका निकायको रहेको सभापति लामिछानेको भनाइ छ।